एस् एल् सी पछि अब पालो कलेज पढ्ने थियो । गाँउबाट डेढ घण्टाको समय लगाएर
पढ्न आइने भो बनेपाको एउटा कलेजमा । स्कुलबाट त कति भागियो कति । तर कलेजमा
त भाग्न हुन्नँ, पास गर्न धेरै मेहेनत गर्नु पर्छ भनेर सबैले भनेको
सुन्थेँ । आखिर विद्यार्थी न हो पढ्न भनेपछि के जाँगर चल्थ्यो? चाँजोपाँजो
मिलाएर दुई हप्ता पछि त साथी सङ्गको मिलेमतोमा कलेज बङ्क गर्ने श्रिङ्खला
सुरु भैहाल्यो ।
स्कुलबाट भाग्दा भन्दा कलेज बङ्क गर्दा छुट्टै आनन्द आउने । भाग्ने त दुबै
बिना सुचना निर्धारित नियमलाई छलेर भाग्ने नै हो तर शब्दावली पनि कति फरक ।
बङ्क भन्दा छुट्टै स्वतन्त्रताको प्वाँख पलाएझै लाग्ने । कलेज बङ्क गरेर
युनिफर्ममै डाँडाकाँडा दगुर्ने, डुल्ने, खाने बाहेक भक्तपुरको बाराही हलमा
हिन्दी फिलिम हेर्न जाने नशा लागेको थियो । त्यहाँ हेरेको पहिलो फिलिम थियो
अजय देवगन स्प्लिटेड पर्सनालिटी भएको दिवान्गी । मुभी सकिएपछि बाराही
चोकमा एउटा जस्ताको छाप्रोमा खाजा खान जान तयार भए साथीहरु । “वाराही मम”
नामाङ्कित उक्त छाप्रोमा ढोकैमा बलिरहेको स्टोभ माथि ममको ठुलो भाडोले
चर्कै सँग “झ्वाइयँ” आवाज दिइरहेको थियो । त्यहाँबाट आएको स्टिमले पुरै
कोठा बाफिलो थियो । अर्को टेबलमा तामाङ् जस्ता लाग्ने आमा छोरी स्वादले
सप्रक सप्रक मम खाइरहेका थिए जस्तोकी मम एकपटक त खानै पर्ने चीज हो ।
पहिले जे त होला खाने चिज न त हो, खाइ नै पो दिउ कि क्या हो जस्तो लागेर
छाप्रो भित्र छिरिएको थियो । छिरिसकेपछी बाफको हरकले असजिलो महसुश भयो ।
तलबाट उडेर राँगोको मासु पिल्सिएर निक्लेको बाफ पिठोको खोलका सुक्ष्म
छिद्रहरुबाट चुहिएर तातिरहेको सिलाबरे भाँडोको अन्तरकुन्तरबाट बाहिर आएर
छाप्रो भित्रको वायुमन्डलमा तैरँदै गर्दा स्वाठ्ठै मेरो नाक भित्र छिर्यो ।
श्वास संगै घ्राणेन्द्रीयमा छिरेको उक्त राग फोक्सोको एल्भिओलाईमा रगतसँग
साटियो र अणु–योगिक भएर दिमाग लगायत सम्पूर्ण शरीर कोषिकामा तरङ्गित भयो ।
त्यो गन्ध मलाई किञ्चित मन परेन । भित्रै देखि असजिलो भएर आयो । तैपनी
साथीहरुसँग टेबलमा बसेँ ।
अब ममको एक चरणको अनुभव पछि दोस्रो चरणको अनुभव लिनँ स्टिलको प्लेटमा
भर्खरै आफु सामुन्ने आएको सेता सेता डल्लाहरुलाई नियालँे । प्लेटमा वरिपरि
सजिएको नौलो अनि बरखी बारेको जस्तो देखिने डल्लो परिकार रापिलो छ, बाफिलो छ
। नीलो बाल्टिबाट पसले दिदीले डाडुले उबाएर हरियो झोल लतत हुने गरी पिठाका
पोकाहरुलाई डुबाउने गरी हालिदिइन् । चम्चाले पल्टाएर साथी अनीलले फोर्कले
एउटा डल्लामा घ्वाप्प घोप्यो । हरियो झोलमा ओल्टाइपल्टाई लाट्लुट पार्यो र
ख्वाप्प मुखमा दाब्यो । प्रष्टै थियो, लगभग आगोकै भुङ्ग्रो जस्तो तातो उक्त
डल्लाले अनीलको ओठ, जिब्रो गीजा, सबै पोल्यो । मुख भरी बुझो लागेकाले
बिचरा उस्ले “आथ्था” पनि भन्न पाएन । हाउडो बाएरै स्वार्र हावा भित्र
तान्यो । त्यस्पछि बाहिर फर्कायो । अलिअली दाँतले पेल्यो, मुख भित्रै
ओर्कायो फर्कायो । त्यस्पछि फेरी चम्चा भरी भरी हरियो झोल प्लेट्बाट उबाएर
स्वाट्ट स्वाट्ट मुखमा हाल्यो । मम चिसो झोलले हल्का चिसिएकाले हुन सक्छ,
दातले जोड्ले काचाक् कुचुक पारेर निलिदियो ।
म एकैछिन त दङग परँे, कस्तो चपाउन पनि नपर्ने रहेछ । फेरी अर्को चम्चा झोल
पेल्यो । ठीक त ठीक हो, पिठोमा बाटरेपछी भित्र रहेको भैंसीको चौटा पनि
देख्न नपर्ने, घीन पनि नलाग्ने । तर मलाई हरियो झोलमा पौडी खेलिरहेका महिष
पिन्डहरु देखेर पेट हुँडल्न थालिसकेको थियो । त्यो झोलको रङ हेर्दा तीन
दिने पाडोले बिगौती दुध धेरै खाएर छेरेको जस्तो लाग्यो । अँह१ यो काम मबाट
हुँदैन । टेबलको प्लेट अलि पर सारेर कराउदै म जुरुक्क उठेँ – “नाइँ, म मम
खान्नँ” । साथी राजुले भन्यो– “आधा प्लेट मात्र ममले पनि जिउलाई दिनभरी आड
दिन्छ । उत्तिनै पैसा पर्ने चना र सेल जस्तो पेट्मै फुस्स हराउदैन मम” । तर
पनि मैले ममको जिब्रे अनुभव गर्न सकिनँ ।
दुई बर्ष सम्म ममको चौतर्फी प्रशंसा सुनेर म हैरान थिए । बिष हैन क्यारे,
सबैले त्यस्तो मिठो मानेर खाका छन् । एक पटक त चाख्नै पर्ने थियो । बाह्रको
रिजल्ट आएपछि तीनै साथी सङ्ग एकदिन झिङ्गु छिरियो । बडो आँट गरेर सिङ्गै
आधा प्लेट मम अर्डर गरँे आफ्नो लागि । आफुले पनि अनीलको सीप अवलम्बन गर्दै
मम क्वाप्प मुखमा हालेँ । मामाका डल्ला ठुला, आफ्नो दार सानो । तार्तम्य
मिलेन, मुखभित्र पसेको मम मुखमै जाम भयो । हल न चल भयो । तातो उस्तै, पोलेर
मरेतुल्य पारो ममले । र्याल र सिङ्गान बग्न सुरु भैगो । आँखाबाट पनि आसु
बग्न सुरु भयो । मुखमा हुलिसकेको ममलाई “आँ” गरेर प्लेटको पोखरीमा ह्वात्तै
पारिदिएँ । केटाहरु हाँसे, भने– “बाहुनको छोरोले मम खाओस न स्वाद पाओस् ।
जिब्रोले भने स्वाद भेटिसकेको थियो, हल्का बेग्लै किसिमको गन्ध बाहेक
समग्रमा ममको स्वाद नमीठो चाँही भनिहाल्न मिल्दैन । तिब्बतको ल्हासामा
उत्पत्ति भएको ठानिएको यो परिकारले नजाने कति वर्ष संघर्ष गर्नुप¥यो मेरो
जीब्रोसम्म आइपुग्न । राजुले सुझायो– “चम्चा र काँटाको मद्दतले आधा आधा
टुक्रा पारेर खाऊ” । तर टुक्र्याएपछि पीठोको खोल पुर्व लाग्यो भित्रको मासु
मसलाको डल्लो छरपस्ट भयो । घीन लागेर यसपाली म ममको पूर्ण अनुभव गर्न
नसक्ने भैसकेको थिएँ ।
त्यस्को एक हप्ता पछि अद्वैत् मार्गमा साथीसँग फेरि एभरेस्ट मम भित्र गइयो ।
डल्ला साना साना भएकाले निल्न सकिने आश थियो । नभन्दै बढो संघर्षका बाबजुद
पाँच गोली मम पेट्ले फछ्र्याेट गरिछाड्यो । तीन घुट्का पानी खाँदा त पेट
टनक्क भएर ढाडियो । त्यही दिन बसमा यात्रा गर्दा सल्लाघारी नपुग्दै पेट
उमठेर पहिले अमीलो झोल आयो त्यस्पछि आंशिक चपाइएका ममका डल्लाहरु पहेलो
लयालु झोल सँगै हुलुक हुलुक बाहिर आउन थाल्यो । मुन्टै बसको सिसा बाहिर
राखेर आमासयको मम भक्तपूरे भूमिमा बिसर्जन गर्नु पर्यो ।
पछि तरह तरहका मम देखियो । धेरै ठूला, बुट्ट भरेका, लाम्चा, घुमाउरा, साना,
कोठे । त्यस्तै गरी फ्राइड्, भेज, सी, चिकेन, मस्रुम, पनीर के के हो के के
। अनेक माध्यममा सर्भ गरेको भेटेँ– टपरी, कचौरा, थाल, बोहोता, डिस्पोजेबल
प्लेट । यसरी एक सय एक थरिका मम आए तर पनि मैले खाने आँट गरिनँ ।
[ यो लेख २०७३ माघ सात गतेको साप्ताहिकमा प्रकाशित् छ । ]
ravinems@iom.edu.np
No comments:
Post a Comment